काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्वमा ठूलो परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई पुनः कप्तान नियुक्त गरेको छ । क्यानले ओडीआई टोलीका कप्तान रोहित पौडेललाई हटाउँदै आगामी एसीसी प्रिमियर कपका लागि सन्दीपको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो ।
सन्दीप लामिछाने करिब चार वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन् । क्यानको यो निर्णयलाई नेपाली क्रिकेटमा नयाँ रणनीतिक मोडका रूपमा हेरिएको छ । अन्तर्राष्ट्रिय अनुभव, नेतृत्व क्षमता र टोलीमा प्रभावशाली उपस्थितिका कारण सन्दीपलाई पुनः कप्तानी दिइएको विश्लेषण गरिएको छ ।
सोमबार सार्वजनिक गरिएको टोलीसँगै रोहित पौडेलको कप्तानी यात्रा औपचारिक रूपमा अन्त्य भएको छ । सन्दीप लामिछाने करिब चार वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन्। यसअघि क्यानले टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई जिम्मा दिइसकेको थियो । अब रोहित दुवै सीमित ओभरको टोलीको नेतृत्वबाट बाहिरिएका छन् ।
मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी समावेश छन् । आगामी भदौ १४ देखि २७ गतेसम्म मलेसियामा सञ्चालन हुने एसीसी प्रिमियर कप नेपाली क्रिकेटका लागि महत्वपूर्ण प्रतियोगिता मानिएको छ ।






















