बुटवल, १६ साउन ।
देशका धेरै विकास आयोजनाहरु वर्षौंसम्म अलपत्र पार्ने र समयमै निर्माण सम्पन्न नगर्दा धेरै निर्माण कम्पनी कालोसूचीमा पर्दै आएका बेला लुम्बिनी प्रदेश सरकारले भने सम्झौताभन्दा अघि नै आयोजना सम्पन्न गर्ने निर्माण व्यवसायी तथा कम्पनीलाई सम्मान गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा सडक तथा पुल निर्माणका आयोजना तोकिएको समयसीमाभन्दा अघि सम्पन्न गरी उदाहरणीय कार्यसम्पादन गर्ने निर्माण व्यवसायी तथा कम्पनीलाई सम्मान गरेको हो ।
मन्त्रालयका अनुसार समयपालन, गुणस्तरीय निर्माण र विकास आयोजनालाई निर्धारित अवधिभित्र सम्पन्न गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक समारोहका बिच मुख्यमन्त्री चेतनारायण आचार्यले दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरे । पछिल्ला वर्षहरूमा मुलुकका धेरै विकास आयोजना निर्माण कम्पनीको ढिलासुस्तीका कारण प्रभावित भइरहेका बेला लुम्बिनी प्रदेशमा भने केही निर्माण कम्पनीले समयअघि नै काम सम्पन्न गरेर सकारात्मक सन्देश दिएका छन् । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्झौताअनुसार तोकिएको समयभन्दा अगावै सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा जय बागेश्वरी–बर्दिया ब्ल्याक–बक खुमचन्द्र जेभीका सन्तोष केसी, एसियाटिक–लुम्बिनी जेभी बुटवलका नुरुपसाद शेरचन, बागेश्वरी–ओमकार–ओम जेभी रुपन्देहीका विजय लोध, श्रीराम सैनामैना जेभी सैनामैनाका रामप्रसाद पाण्डे, आँसु निर्माण सेवा विजवार प्युठानका बालाजु श्रेष्ठ, शारदा निर्माण सेवा प्रालि तुलसीपुरका जयबहादुर खत्री, राजवीर निर्माण सेवा प्रालिका राजबिर घर्तीमगर भगवती, अलकापुरी आरएजेभी तिलोत्तमाका चित्रबहादुर श्रेष्ठ, राजेश्वरी कन्स्ट्रक्सन प्रालि गुल्मीका भागवत गिरी, पिएसिएल लाईनियर जेभि बुटवलका ऋषिराम अधिकारी रहेका छन ।






















