काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेको छ। अहिले लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो, भूक्षय, नदी तथा खोलामा पानीको सतह बढ्ने जोखिम रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विभागले भारी वर्षाका कारण बाढी, डुबान, पहिरो तथा कमजोर भू–भागमा जोखिम बढ्न सक्ने भएकाले नदी किनार, पहिरो प्रभावित क्षेत्र तथा लामो दूरीका सडक यात्रामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





















