काठमाडौं। संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकले दक्षिण सुडानका दुर्गम क्षेत्रमा पाँच दिने संयुक्त सुरक्षा गस्ती सञ्चालन गरेका छन् । नेपाली शान्ति सैनिक, संयुक्त राष्ट्रसंघका सैन्य पर्यवेक्षक तथा नागरिक कर्मचारी सम्मिलित टोलीले येई, मोरोबो र काया क्षेत्रमा गस्ती गर्दै स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गरेको हो ।
दुर्गम क्षेत्रमा सुरक्षा सुदृढ गर्ने, स्थानीयको विश्वास अभिवृद्धि गर्ने तथा शान्ति स्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउने उदेश्यका साथ गस्ती गरिएको यूएनएमआईएसएसले जनाएको छ । गस्तीका क्रममा टोलीले स्थानीय समुदायका अगुवासँग भेटघाट गरी सुरक्षा चुनौतीबारे छलफल गरेको थियो । साथै, मोरोबो क्षेत्रमा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको थियो । यूएनएमआईएसएसका अनुसार यस्तो संयुक्त अभियानले स्थानीय समुदायसँग विश्वासको सम्बन्ध मजबुत बनाउनुका साथै नागरिक संरक्षणलाई प्रभावकारी बनाउन र दक्षिण सुडानमा दिगो शान्ति स्थापना गर्ने प्रयासलाई टेवा पु¥याएको छ ।
दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपालले लामो समयदेखि दक्ष सैनिक र सुरक्षाकर्मी परिचालन गर्दै आएको छ । नेपाली शान्ति सैनिकहरू सुरक्षा गस्ती, नागरिक संरक्षण, मानवीय सहायता तथा समुदायसँगको सहकार्यका माध्यमबाट शान्ति स्थापनामा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।






















