Spread the love

बुटवल, ४ साउन ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही–लुम्बिनीको ३१ औ स्थापना दिवसको अवसरमा शनिबार सरसफाई तथा डष्टबिन बितरण कार्यक्रम गरिएको छ । विविध रचनात्मक र सामाजिक उत्तरदायित्वसँग जोड्दै एसोसिएसनले शनिबार बुटवल–२, मैनाबजारस्थित अटो भिलेज परिसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबिनसमेत वितरण गरिएको एसोसिएसनका अध्यक्ष प्रेम गौचनले बताए । स्थापना दिवस सप्ताहव्यापी विविध कार्यक्रम अनुसार साउन ३ गतेदेखि १३ गतेसम्म सामाजिक, स्वास्थ्य, वातावरण तथा खेलकुदसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्ष बाबुलाल पाण्डेले व्यवसायिक हितसंगै संस्थाबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरसफाइजस्ता अभियानलाई निरन्तरता दिँदै आएको बताए । यस्ता गतिविधिले व्यवसायिक समुदाय र सर्वसाधारणबीच सकारात्मक सन्देश प्रवाह गर्नुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने उनको भनाइ थियो ।

एसोसिएसनका महासचिव पुनित पोखरेलले साउन ४ गते वृहत् रक्तदान कार्यक्रम, ६ गते वृक्षारोपण, ८ गते ब्याडमिन्टन प्रतियोगिता, ९ गते फुटसल प्रतियोगिता तथा १३ गते समापन एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ ।

सरसफाइ कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति बुटवलको युवा संगठन, सशस्त्र प्रहरी बल, सुरक्षा बेस बुटवल, नेपाल आर्मी, फूलबारी सहकारी, धनवर्षा सहकारी, सिर्जनशील दिदीबहिनी आमा समूहलगायत विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रम संयोजक दीपक पंगेनीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्