बुटवल, ३ साउन ।
काठमाडौंमा भूमि तथा सीमा अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल, नागरिकता वितरण, लालपुर्जा उपलब्ध गराउने, सीमा सुरक्षा सुदृढीकरण तथा आवश्यक पूर्वाधार निर्माणलगायत ६ बुँदे मागसहित धर्ना दिएपछि सुस्ताबासीका समस्या समाधानका लागि सरकार सक्रिय बनेको छ । गृगृह मन्त्रालयको परिपत्रअनुसार आइतबार पहिलोपटक लुम्बिनी प्रदेश कार्यालयका प्रमुखसहित नेपाल प्रहरी र सुरक्षा निकायका प्रतिनिधिले सुस्ता क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा सीमा क्षेत्रको अवस्था, स्थानीयको सुरक्षा, नागरिकता, भूमि व्यवस्थापन तथा आवश्यक संरचना निर्माणका विषयमा जानकारी लिँदै समस्या समाधानका लागि आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीसहित प्रहरी तालिम केन्द्र बुटवलका समादेशक दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राम बहादुर केसी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान राना, प्रहरी विशेष सुरक्षा गण नवलपरासीका प्रहरी उपरीक्षक डिबी मल्ल लगायत सहभागी टोलीले सुस्ताका अगुवा नेताहरुसंग भेटघाट तथा समस्याका बारेमा जानकारी लिएका थिए ।
यसैबिच सुस्ताको वडा नं. ५ मा रहेको जनता दलित आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधि आदम खानले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमाल खानमार्फत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख भुपेन्द्र बहादुर खत्रीले सुस्ताबासीहरुबाट यहा हुने डुबान रोक्ने, शान्ति सुरक्षाको अवस्थालाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण भएको हुदा अवलोकनका लागि आएको बताए । भ्रमणको क्रमा प्रत्यक्ष रुपमा नै सुस्तबासीसंग भेटेर बस्तुस्थितीबारे गहिरो बुझन पाएको उनले बताउदै बाँध, सुरक्षा र नागरिकताको समस्या लगायतलाई सम्बन्धित कार्यालयहरुमा सहजिकरणको प्रयास गर्ने उनले बताए ।
जेठ २९ गते बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपालतर्फको भुमी सुस्तामा प्रवेश गरि सुस्ताबासीलाई आतंकित गराउने काम भएकोप्रति निन्दा गर्दै सुस्ताबासीहरुले सरकारलाई ध्यानाकर्षणपत्र बुझाएपछि गृहमन्त्री सुधन गुरुङले समस्या सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।
भिडियो रिर्पोट


















