काठमाडौं ,२२ जेठ।
सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आह्वान गरेको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन आह्वान गरेको छ ।
अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
मन्त्रालयले सूचनामार्फत नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन अनुरोध गरिएको छ ।
सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्न सूचना जारी गरिएको जनाएको छ ।





















