बुटवल, २१ जेठ ।
वेस्टर्न मेगा कलेज मा महिलाको स्वास्थ्य, महिनावारी व्यवस्थापन तथा सरसफाइसम्बन्धी एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कलेजमा बीएचएम अध्ययनरत विद्यार्थी, कलेज तथा आरम्भ रिसोर्टमा कार्यरत कर्मचारीहरूको सहभागितामा भएको कार्यक्रममा प्रशिक्षक माधुरी ज्ञवालीले सहजीकरण गर्दै महिलामा देखिने विभिन्न स्त्रीरोग, महिनावारीका समयमा हुने स्वास्थ्य समस्या, त्यसको पहिचान, उपचार विधि, सरसफाइ तथा समाधानका उपायबारे बताईन ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले महिनावारी र महिला स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा जिज्ञासा राख्दै अन्तरक्रिया गरेका थिए । महिनावारी प्राकृतिक जैविक प्रक्रिया भए पनि पर्याप्त ज्ञान र सचेतनाको अभावमा धेरै महिला तथा किशोरीहरूले मानसिक र शारीरिक समस्या भोग्नुपरेको विषयमा कार्यक्रममा विशेष चर्चा गरिएको थियो ।
कार्यक्रममा कलेजका प्राचार्य किसु शर्माले महिला तथा किशोरीहरूमा महिनावारीसम्बन्धी गलत धारणा हटाई आवश्यक स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । यस्ता कार्यक्रमले स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै सम्भावित समस्याको रोकथाममा सहयोग पुग्ने उनको दाबी छ ।
कार्यक्रममा संयोजक एलिजा बज्राचार्य, अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश खाम्चा, बीएचएम अध्ययनरत छात्रा समिता जी. सी.ले कलेजमा गरिने अतिरिक्त कार्यक्रमहरु फलदायी र प्रभावकारी भएको बताए ।
कलेजले हाल स्नातक तहमा बीएचएम तथा बीबीए र स्नातकोत्तर तहमा एमबीए कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।





















