भैरहवा, २४ बैशाख ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजन क्रिकेटमा देवदह क्रिकेट युनिट विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा बिहीबार भएको खेलमा देवदहले बुटवल राइनोजलाई ४३ रनले पराजित गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले मौसमका कारण छोट्याइएको खेलमा २३.४ ओभरमा केवल १ सय ३६ रन बनायो । उसका लागि सुमन पाण्डेले ७४ रनको अर्धशतकीय पारी खेल्दा सन्देश पन्थीले १६ रन बनाए । बुटवल राइनोजका नितिन त्रिपाठीले ३, शिव कुँवरले २ विकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको बुटवल राइनोज २३.२ ओभरमा ९३ रनमा समेटियो । उसका लागि सुरज सारुले ३७, नितिन त्रिपाठीले ११ तथा सनित श्रेष्ठ र हार्दिक बरईले समान १०–१० रन बनाए । देवदहका शशिधर टण्डनले ४, सन्देश पन्थीले ३ र कृष्ण पराजुलीले २ विकेट लिए । खेलमा देवदहका सुमन पाण्डे प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।




















