बुटवल, २४ वैशाख ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका करिब ८ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार विहिबार गरिएको विशेष चेकजाँचका क्रममा अन्दाजी ८ लाख ५० हजार ७२२ रुपैयाँ बराबरका कपडा, जुत्ता, किराना तथा कस्मेटिक सामग्री नियन्त्रणमा लिइएको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय भैरहवाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।
मायादेवी गाउँपालिका–३ हर्नामपुरबाट लु ६ प ८३७६ नम्बरको मोटरसाइकलसहित ४ लाख ४ हजार ८४४ रुपैयाँ बराबरका १२२ पिस कुर्ता सुरुवाल, १३२ मिटर कपडा, १६ पिस लेडिज जिन्स, २४ पिस लुङ्गीलगायत विभिन्न कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका–९ बाट १ लाख ५५ हजार रुपैयाँ बराबरका ७४ जोर नाइके जुत्ता बरामद गरिएको छ ।
देवदह नगरपालिका–७ खैरेनी चोकबाट १३ हजार ६ सय रुपैयाँ बराबरका १५० पिस बिस्कुट, ओमसतिया गाउँपालिका–६ दर्खसवाबाट २१ हजार ५६० रुपैयाँ बराबरका विभिन्न किराना सामान तथा रोहिणी गाउँपालिका–७ टिकरबाट १० हजार रुपैयाँ बराबरको १०० केजी चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, कोटहीमाई गाउँपालिका–४ बरहदवाबाट लु ९ प ३९५२ नम्बरको मोटरसाइकलसहित २ लाख ४५ हजार ७१८ रुपैयाँ बराबरका मामा अर्थ फेसवास, सनस्क्रिन, भिटामिन–सी लगायत विभिन्न कस्मेटिक सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।





















