बुटवल, २४ वैशाख ।
रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत विहिबार बुटवलमा वृहत प्रदर्शन गरेका छन् । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित संघर्ष समितिको आह्वानमा राजमार्ग चौराहमा जम्मा भएर दिउसो शुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सहभागीहरु बालेन्द्र सरकार विरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले बालेन्द्र शाहलाई सरकार छाड्न माग गर्दै सरकारले चलाएको ‘डोजर आतंक’को चर्को विरोध गरेका छन् ।
‘हाम्रो कर वैध, मत बैध, हामी कसरी अवैध बालेन सरकार?’, ‘हाम्रो बस्ती हाम्रो शान सुकुमबासी बस्ती जिन्दाबाद’, ‘हामीलाई ध्वंस होईन बाच्ने अधिकार चाहियो ।’, ‘हत्या आतंक बन्द गर’, ‘विस्तापित होईन स्थापित गर’, ‘सार्वजनिक जग्गा सरकारको, सुकुम्बासी जनता चाहि कस्को?’ लगायतका प्लेकार्ड सहित चर्का नारा लगाएका थिए ।
विगतमा नापजाँच भइसकेका जग्गाको लालपुर्जा तत्काल उपलब्ध गराउन माग गर्दै जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको भूमिहीन सुकुमवासी तथा अव्यवस्थित संघर्ष समितिले जनाएको छ ।
प्रदर्शनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले बुटवलमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदर्शन बुटवलमा विभिन्न वडाका टोलटोलबाट प्रदर्शनकारी सहभागी थिए ।
भिडियो रिर्पोट






















