बुटवल, १७ माघ ।
आन्तरिक पर्यटक प्रवद्र्धनको उदेश्यका साथ रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको पदाधिकारी तथा कार्यसमितिद्धारा पाल्पाको जन्तीलुङ्ग होमस्टे अध्ययन, अवलोकन भ्रमण गरेको छ । पुस १५ देखि १७ सम्म बुटवलमा सम्पन्न सडक खाना महोत्सव २०८२ समिक्षासंगै आन्तरिक पर्यटन प्रवद्र्धन हुने गरि कार्यक्रम गरिएको संयोजक तथा संघका प्रथम उपाध्यक्ष थम्मन भण्डारीले बताए । बुटवलदेखी नजिकै रमणिय र पर्यटकिय क्षेत्रलाई प्रवद्र्धन गर्न सके आन्तरिक र बाह्य पर्यटक समेत भित्रने सम्भावना रहेको उनले बताए ।
कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार माधव नेपालले पर्यटन विकासमा स्थानियको अग्रसरताको नमुनाको रुपमा जन्तीलुङ्ग होमस्टे भएको बताए । युवा पलायनलाई रोक्ने राम्रो बिकल्प र आफनै थलोमा रोजगार दिने राम्रो सम्भावनाको होमस्टे प्रवद्र्धनमा सरकारको समेत राम्रो साथ रहेको उनले बताए ।
सडक खाना महोत्सव २०८२ नया र फरक परिवेशमा यो वर्ष आयोजना गर्न सफल भएको संघका अध्यक्ष माधव कुमार खनालले दाबी गरे । ३५ वटा विभागमा जिम्मेवारी अनुसार कार्यसमिति सदस्यहरुबाट उत्कृष्ट काम सम्पादनका कारण कार्यक्रम सफल भएको उनले बताए । केवल मनोरन्जन र खानाका परिकार पस्कनेमात्र नभई सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सरसफाई र रक्तदान एवं पर्यटन गोष्ठी समेत गरेको उनले बताए । अबको वर्षभने महोत्सव आयोजनाका लागि निश्चित स्थान र समय तोक्न जरुरी रहेको भन्दै यसमा संघ अघि बढ्ने बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार समुन्द्र जिसी, हिराध्वज शाह, सल्लाहकार प्रेम पाण्डे, सल्लाहकार महेन्द्र श्रेष्ठले काम गर्दा समस्या देखिनु स्वाभाविक भएको भन्दै कमीकमजोरीलाई चिर्दै आगामी वर्ष फरक ढंगबाट कार्यक्रम गर्नेतर्फ योजना बनाउन सुझाव दिए ।
कार्यक्रममा संघका कोषाध्यक्ष अर्जुन पोखरेलले महोत्सवको अनुमानित आयब्याय प्रस्तुत गरेका थिए । यसैगरि संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव केशवराज कंडेलले संस्थाको वार्षिक योजना अनुसार रचनात्मक कार्यमा सबैको साथ जरुरी रहने बताए ।





















