बर्दघाट, १७ माघ ।
घरायसी काममा सीमित रहँदै आएका विभिन्न जातजातिका महिलाहरू पछिल्लो समय सांस्कृतिक पहिचान र संरक्षणसँगै आयआर्जनका गतिविधिमा सक्रिय बन्दै गएका छन् । स्थानीयस्तरमा समूहगत रूपमा उत्पादन गरिएका वस्तुको बिक्री तथा प्रवद्र्धनमार्फत महिला र जनजाति समुदाय संस्कृति संरक्षणमा अग्रणी देखिएका छन् ।
बर्दघाट उद्योग व्यापार संघद्वारा आयोजित प्रथम बर्दघाट एक्सपोमा नगरभित्रका विभिन्न समुदाय तथा महिला उद्यमीहरूले आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्दै व्यवसायिकता प्रदर्शन गरेका छन् । एक्सपोमा विभिन्न जातीय संस्कृतिको संरक्षण र प्रवद्र्धनमा उनीहरूको सक्रिय सहभागिता देखिएको छ ।
एक्सपोमा थारु, मगर र गुरुङ समुदायको संस्कृति झल्कने घर, भेषभूषा, रहनसहन तथा परम्परागत खाना अवलोकन गर्न सकिन्छ । छुट्टै पवेलियन निर्माण गरी समुदायसँग सम्बन्धित सामग्री प्रदर्शन र परिकार बिक्री गरिएको छ ।
थारु समुदायको स्टलमा घुँगी, माछा, चिच्चर, ढिकरी, हाँसका परिकार उपलब्ध छन् । यसको व्यवस्थापन ब्रह्मबाबा सामुदायिक विकास प्रतिष्ठान र सम्झना आमा समूहले गरेको छ ।
मगर समुदायको स्टलमा बटुक र बंगुरको मासुका परिकारसँगै जातीय पहिरन तथा सामग्री प्रदर्शनीमा राखिएको छ । तमु प्ये ल्हु संघको व्यवस्थापनमा गुरुङ समुदायका परम्परागत पहिरन र प्रयोगका सामग्री प्रदर्शनमा राखिएको छ ।
दैनिक उपभोग्य सामग्री, श्रृगार सामग्री, हस्तकला, झोला, अचार, पिठो, चिप्सलगायत महिला उद्यमीका उत्पादन स्टलमा राखिएका छन् । सहभागी महिला उद्यमीहरू समूहगत र व्यक्तिगत रूपमा एक्सपोमा आबद्ध छन् ।
हरियालीनगर आमा समूह, सम्झना आमा समूह, मगर समूह र गुरुङ समूहले सेलरोटी, घुँगी, ठेकुवा, बटुक, बंगुरको मासुजस्ता स्थानीय उत्पादनको बजारीकरणमा अग्रसरता देखाएका छन् । भाउजु अचार उद्योग, महिला अधिकार मञ्च बर्दघाट–१४, दाउन्ने अचार, आमा–छोरी अचार, मिना गुरुङ अचारलगायत स्टलहरूमा उत्साहजनक सहभागिता देखिएको छ ।
लामो समयदेखि स्थानीय महिलाको रोजगारी र आर्थिक सशक्तीकरणमा क्रियाशील दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारी संस्थाले महिलाद्वारा उत्पादित झोलासहितको स्टल सञ्चालन गरेको छ । साथै साबुन, फिनेल, सर्फ, हर्पिक, ह्यान्डवास, पिताम्बरीलगायत सरसफाइ सामग्री पनि प्रदर्शनीमा राखिएका छन् ।
एक्स्पोमा महिलाको उल्लेख्य सहभागिता उत्साहजनक भएको बताउँदै मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले घरेलु उद्योग र नगरपालिकासँग समन्वयमा आएका महिला उद्यमी तथा कृषिमा आधारित महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको बताए । यसैगरि संस्थामा आबद्धलाई ५० प्रतिशत छुट दिईएको छ ।
एक्सपोका सह–संयोजक दिनेश न्यौपानेले एक्सपो औद्योगिक प्रदर्शनी मात्र नभई साना, मझौला तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने महत्वपूर्ण थलो बनेको बताए । दर्शकको विशेष चासोका कारण आगामी वर्ष थप उद्यमी र जनजाति समेट्दै व्यवस्थित बनाउने उद्योग उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक लिलाहरी पौडेलले बताए ।





















