बुटवल,१३ माघ । उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा प्रथम बर्दघाट एक्सपो २०८२ मंगलबारदेखि सुरु भएको छ । ‘स्थानीय उद्योग र व्यापार, दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्सपो माघ २५ गतेसम्म सञ्चालन हुनेछ । एक्सपोको उद्घघाटन गर्दै नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले उद्योग र व्यापार नै मुलुकको आर्थिक मेरुदण्ड भएको बताए । हाल सरकारी नीतिका कारण सञ्चालनमा रहेका उद्योगसमेत बन्द हुने अवस्था आएको उल्लेख गर्दै उनले नीति परिमार्जन मार्फत यस्तो अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकाश उपाध्याय सीजी फाउन्डेसनकी मेरिना रञ्जित, उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपाने , रविन्द्र विक्रम हमाल लगायतले एक्सपोले शिथिल बनेको व्यापार व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एक्सपोमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र करिब ७ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अनुमान गरेको छ । करिब २५० स्टल रहेको एक्सपोमा कृषि, लघु तथा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको प्रदर्शनीसँगै विभिन्न जातजातिको संस्कृति झल्किने कार्यक्रम, बाल उद्यान तथा सांगीतिक प्रस्तुति समेत समावेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले बताए






















