भैरहवा, ११ मंसिर ।
रुपन्देहीमा जारी एकेडेमी क्रिकेट लिगमा देवदह क्रिकेट युनिट एकेडेमीले जित निकालेको छ । शुक्रबार देवदह क्रिकेट मैदानमा भएको खेलमा गुरुकुल क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै देवदह क्रिकेट युनिट एकेडेमीले जित निकालेको हो ।
टस जितेर ब्याटिङमा आएको गुरुकुलले निर्धारित ३० ओभरमा २८ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५२ रन बनायो । उसका लागि केशव भट्टराईले अविजित ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, अक्सत श्रेष्ठले २४ रन बनाए । बलिङमा देवदहका विपिन खनालले ३, रोहन कुँवर, प्रिन्स शर्मा र परिस्कृत न्यौपानेले समान २–२ तथा अनिश कार्कीले १ विकेट हात पारे ।जवाफी ब्याटिङ गरेको देवदहले २७ ओभर ५ बल खेल्दै ५ विकेट गुमाएर १ सय ५४ रन बनाउँदै जित निकाल्यो ।
उसको जितमा रोहन कुँवरले नटआउट ५३, रिजन पाण्डेले ३५, रोजन पाण्डेले २९ र आयुश पाण्डेले ११ रनको योगदान दिए । बलिङमा गुरुकुलका कृष्ण बरईले २ तथा प्रितम कार्की, कृतज्ञ पन्त र केशव भट्टराईले १–१ विकेट लिए । खेलमा देवदहका रोहन कुँवर प्लेयर अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता भैरहवास्थित सिद्धार्थ रंगशाला र देवदहमा संचालन हुनेछ । जिल्लाका ८ वटा एकेडेमी सहभागी प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने छ ।




















