बुटवल,११ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सरोकारवाला सबै पक्षको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । बालविवाह, कम उमेरमा विवाह तथा जबर्जस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बालविवाहमुक्त समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका हुन् ।

उनले बालविवाहलाई बालअधिकारको गम्भीर उल्लङ्घनका रूपमा उल्लेख गर्दै यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, व्यक्तित्व विकास र भविष्यमा प्रत्यक्ष असर पार्ने बताएका छन् । बालबालिकालाई सुरक्षित बाल्यकाल, गुणस्तरीय शिक्षा र सम्मानजनक जीवन प्रदान गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।

बालविवाह अन्त्य गर्न सामाजिक चेतना, व्यवहार र सोचमा परिवर्तन आवश्यक रहेको भन्दै उनले सरकार, परिवार, विद्यालय, नागरिक समाज र समुदायबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् । कानुनी व्यवस्था र सामाजिक जागरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालविवाहलाई सामाजिक रूपमा अस्वीकार्य व्यवहारका रूपमा स्थापित गर्नुपर्ने उनले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश निर्माणलाई उच्च प्राथमिकतामा राख्दै वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत काम गर्दै आएको मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ । चालु आर्थिक वर्षमा प्रदेशका १२ जिल्लाका १०९ वटै स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा उन्मूलनका कार्यक्रम सञ्चालनमा केन्द्रित गरिएको उनले बताएका छन् ।

">
Bajaj Grand Exchange Mela