Spread the love

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुवै संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेल आज दिउँसो ४ः३० बजे सुरु हुने तालिका छ । प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते अर्थात् नोभेम्बर २१ मा हुनेछ । प्रतियोगितामा यसपटक उपाधिका लागि प्रतिस्पर्धा मात्र नभई अन्तर्राष्ट्रिय पहिचान र नेपाली क्रिकेटको व्यावसायिक विकाससमेत महत्त्वपूर्ण पक्षका रूपमा रहनेछन् ।

एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता दिएको छ । यससँगै प्रतियोगिताका खेलले आधिकारिक टी–२० मान्यता पाएका छन् । यस संस्करणमा खेलाडीले बनाएका रन र लिएका विकेट आधिकारिक टी–२० करिअरको अभिलेखमा समावेश हुनेछन् ।

यसपटकको अर्को महत्वपूर्ण विशेषता निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोग हो । अम्पायरको निर्णयमा चित्त नबुझेमा निर्धारित नियमअनुसार टोलीले पुनरावलोकन माग गर्न सक्नेछन् । एलबीडब्लूको निर्णय जाँच्न बल ट्र्याकिङ तथा ब्याटमा बल लागेको वा नलागेको पत्ता लगाउन एज डिटेक्सन र ध्वनि प्रविधि प्रयोग गरिनेछ । रनआउट, स्टम्पिङ र नोबललगायतका निर्णयमा पनि भिडियो पुनरावलोकनको व्यवस्था गरिएको छ । प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार डीआरएस सञ्चालनमा करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त खर्च क्यान र आठवटै फ्रेन्चाइज टोलीले साझेदारी गर्नेछन् ।

विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अनुभवी अन्तर्राष्ट्रिय क्रिकेटरसँग प्रतिस्पर्धा गर्ने र सिक्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रसारण र प्रचारमा समेत सहयोग पुग्ने विश्वास आयोजकको छ । पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर प्रतियोगिताको आधिकारिक प्रसारणमा विश्लेषकका रूपमा सहभागी हुनेछन् ।
तेस्रो संस्करणको पुरस्कार राशि पनि बढाइएको छ । क्यानले आइतबार सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।

क्यानका अनुसार एनपीएलबाट यसपटक करिब एक अर्ब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । प्रायोजन, टिकट बिक्री, प्रसारण अधिकार र फ्रेन्चाइज टोलीहरूको लगानीले प्रतियोगिताको आर्थिक दायरा विस्तार हुने अपेक्षा गरिएको छ । तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्ट्स सहभागी छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्