Spread the love

जनकपुरधाम । धनुषामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनापछि श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घटनामा चार वर्षीय छोरा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले आफ्नी ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए ।

प्रहरीका अनुसार उमेश कात्तिक ७ गते राति करिब ९ बजे मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुराली पुगेका थिए । त्यसपछि राति करिब १ः५० बजे श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला पारेको थियो । बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको पाइएको प्रहरीले जनाएको छ ।

घाइते बालकलाई तत्काल स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको डीएसपी खनालले जानकारी दिए । प्रहरीका अनुसार बालकको अवस्था सामान्य छ । घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ ।

श्रीमतीको हत्या र छोरामाथि आक्रमण गरेपछि उमेश घटनास्थलबाट फरार भएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो ।

प्रहरीले रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । पहिलो घटनास्थलको मुचुल्का सम्पन्न भइसकेको छ भने उमेशको शव फेला परेको दोस्रो घटनास्थलको मुचुल्का गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्