काठमाडौं,२१ असोज ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा जोखिम सञ्चारका गतिविधि तीव्र बनाएको छ । सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना स्क्रब टाइफस संक्रमितको विवरण प्राप्त भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
मन्त्रालयले रोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत स्क्रब टाइफस रोकथाम तथा नियन्त्रण सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत प्रसारण गरिरहेको छ । संक्रमण बढी देखिएका क्षेत्रमा नियमित निगरानी, परीक्षण तथा उपचारको पहुँच विस्तार, स्वास्थ्यकर्मीको परिचालन र स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल ५ हजार परीक्षण किट बफर स्टकमा राखिएको र संक्रमण देखिएका क्षेत्रमा उपचारका लागि आवश्यक एन्टिबायोटिकलगायत औषधिसमेत उपलब्ध गराइएको छ।






















