Spread the love

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले युवा उद्यमीसँग सहकार्य र समन्वय गरेर अघि बढ्दा निजी क्षेत्र थप सुदृढ र गतिशील बन्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको नवनियुक्त समितिलाई चेम्बर लुम्बिनीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पोखरेलले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र सिर्जनशीलतालाई स्थापित व्यावसायिक संस्थाको अनुभवसँग जोड्नुपर्ने बताए ।

उनले सीएनआईवाईईएफ लुम्बिनीका नवनियुक्त अध्यक्ष बिकाश पाण्डेय नेतृत्वको समितिलाई सफल कार्यकालको शुभकामना दिँदै युवा उद्यमीका मुद्दा तथा निजी क्षेत्रका साझा सवालमा चेम्बर सहकार्य गर्न तयार रहेको बताए ।

“युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ,” पोखरेलले भने, “नयाँ पुस्तासँग नयाँ सोच र ऊर्जा छ । त्यसलाई संस्थागत अनुभवसँग जोडेर अघि बढाउन सके निजी क्षेत्रको विकासमा थप उपलब्धि हासिल गर्न सकिन्छ ।”

कार्यक्रममा चेम्बर लुम्बिनीका उपाध्यक्ष जेपी कडेलले युवा उद्यमीको सक्रियता र नयाँ पुस्ताको नेतृत्वले निजी क्षेत्रलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सीएनआईवाईईएफ लुम्बिनीका निवर्तमान अध्यक्ष राजन कसजुले नयाँ नेतृत्वले युवा उद्यमीका साझा मुद्दालाई प्राथमिकतामा राख्दै मञ्चलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष पाण्डेयसहित सीएनआईवाईईएफ लुम्बिनीका पदाधिकारी तथा सदस्यहरूलाई चेम्बर लुम्बिनीले बधाई तथा सम्मान गरेको थियो ।

सो अवसरमा युवा उद्यमशीलताको विकास, निजी क्षेत्रका साझा मुद्दा तथा लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि चेम्बर र सीएनआईवाईईएफबीच आगामी दिनमा सहकार्य र समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफलसमेत भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्