बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले गत असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उद्योग बन्द नगर्न आदेश दिएको हो ।
बुटवल रारा मसला उद्योगका सञ्चालक दीपक भुसालले घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीलगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
अदालतको आदेशमा उद्योगले वातावरणीय प्रदूषण गरेको वा नगरेको विषयमा हालसम्म अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख छ । यस्तो अवस्थामा घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग बन्द गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन गर्दा उद्योगमा रहेको कच्चा पदार्थ तथा उत्पादित वस्तुको व्यवस्थापनमा व्यावहारिक समस्या उत्पन्न हुन सक्ने अदालतले जनाएको छ ।
अदालतले उक्त अवस्थालाई समेत ध्यानमा राख्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उद्योग बन्द गराउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । उद्योग बन्द गराउने कार्यालयको निर्णयको वैधानिकता तथा वातावरणीय प्रदूषणसम्बन्धी विषयमा भने रिट निवेदनको अन्तिम सुनुवाइपछि अदालतबाट थप निर्णय हुने देखिन्छ ।






















