Spread the love

बुटवल, १२ असोज ।
दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ सोमबारदेखि बुटवलमा सुरु भएको छ। बुटवल मण्डपमा भएको उद्घाटन खेलको पहिलो सेटपछि भने प्राविधिक समस्याका कारण खेल रोकिएको छ । उद्घाटन खेलमा सभापोखरी भलिबल क्लबले भारतको खैरा क्लब पञ्जाबलाई २८–२६ अंकले पराजित गर्दै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । तर पर्याप्त उज्यालो नभएका कारण खेल सञ्चालन गर्न नसक्ने अवस्था आएपछि खेल मंगलबारका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको शुभारम्भ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट गर्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण उडान ढिला भएपछि निर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन। ढिला गरी सुरु भएको खेल न्यून उज्यालोका कारण पूरा गर्न नसकिएको मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । उनका अनुसार स्थगित उद्घाटन खेल मंगलबार बिहान १० बजे पुनः सुरु हुनेछ भने प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम मंगलबार दिउँसो १ बजे हुने छ ।
प्रतियोगितामा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लबसहित मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लबले सहभागिता जनाएका छन् । विदेशी टोलीतर्फ भारतका गुजराज स्टेट भलिबल एसोसिएसन, खैरा क्लब पञ्जाब तथा श्रीलंकन पुलिस टिम सहभागी छन् । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले रनिङ शिल्डसहित सात लाख रुपैयाँ, उपविजेताले तीन लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले एक लाख ७५ हजार रुपैयाँ र सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेता टोलीलाई कप, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिनेछ। प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्