Spread the love

बुटवल,१२ असोज ।

त्रिभुवन विश्वविद्यालय द्वारा २०८३ मा सञ्चालित बीबीएस चौथो वर्षको हालै प्रकाशित परीक्षाफलमा एम्स कलेज, बुटवलका विद्यार्थी खिमराज पन्थीले ८६ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन्। कलेज प्रशासनका अनुसार पन्थीले प्राप्त गरेको ८६ प्रतिशत अंक नेपालभर तेस्रो तथा लुम्बिनी प्रदेशमा प्रथम रहेको दाबी गरिएको छ।

उनको उत्कृष्ट नतिजाले एम्स कलेजको शैक्षिक उपलब्धिमा थप गौरव थपिएको कलेज प्रशासनले जनाएको छ। यसैगरी, छात्रा करिश्मा तिवारीले प्राप्त गरेको ८५.२ प्रतिशत अंकका आधारमा लुम्बिनी प्रदेशमा दोस्रो स्थान हासिल गरेको कलेजले दाबी गरेको छ । त्यस्तै पुष्पा न्यौपानेले ८२.२ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन्।

एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालले पन्थीले हासिल गरेको ८६ प्रतिशत अंक कलेज परिवारका लागि गौरवको विषय भएको बताए। उनले विद्यार्थीको निरन्तर मेहनत, प्राध्यापकहरूको प्रभावकारी मार्गदर्शन तथा कलेजले उपलब्ध गराउँदै आएको अनुकूल शैक्षिक वातावरणको परिणामस्वरूप यस्तो उत्कृष्ट उपलब्धि हासिल गर्न सम्भव भएको उल्लेख गरे।
त्यस्तै, कलेजका निर्देशक बाबुराम बन्जाडे उत्कृष्ट नतिजाका लागि विद्यार्थीको मेहनत र लगनशीलतासँगै अभिभावक, प्राध्यापक तथा कलेज प्रशासनको समेत महत्वपूर्ण भूमिका रहेको बताए। उनले विद्यार्थीको शैक्षिक प्रगति र सफलताका लागि कलेजले निरन्तर सहजीकरण तथा आवश्यक वातावरण निर्माण गर्दै आएको उल्लेख गरे।

वि.सं. २०६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्थापना भएको एआईएमएस कलेजले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक नतिजालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। कलेजले हाल व्यवस्थापन संकायअन्तर्गत बीबीएस तहमा अध्यापन गराउँदै आएको छ।

विश्व बजारमा भइरहेको तीव्र परिवर्तन, बढ्दो प्रतिस्पर्धा र रोजगारीका बदलिँदा आवश्यकतालाई मध्यनजर गर्दै कलेजले विद्यार्थीलाई व्यावहारिक, व्यावसायिक तथा प्रतिस्पर्धी ज्ञान र सीप प्रदान गर्दै आएको जनाएको छ। साथै, विद्यार्थीलाई शिक्षा, समाज र राष्ट्रसँग जोड्ने उद्देश्यले विभिन्न अतिरिक्त शैक्षिक, सामाजिक तथा व्यावहारिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको कलेज प्रशासनले जनाएको छ।

 

 

 

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्