Spread the love

बुटवल, १ असोज ।
विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोगबाट हुने शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असरबारे सचेत गराउने उद्देश्यले लायन्स क्लब अफ बुटवल संसारको आयोजनामा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नहरपुरस्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलमा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने जोखिम, त्यसबाट बच्ने उपाय, गलत संगतबाट जोगिने तरिका तथा जिम्मेवार र स्वस्थ जीवनशैलीका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा चौतारी हस्पिटल प्रालिका प्रशासकीय अधिकृत तथा लायन्स क्लब अफ बुटवल संसारका डाइरेक्टर किरण ढकालले सहजीकरण गर्दै लागुऔषध दुरुपयोगसँगै पछिल्लोसमय विद्यार्थी तथा युवामा देखिँदै गएको डिजिटल एडिक्सन, अपरिपक्व सम्बन्ध र पोर्नोग्राफी का कारण उत्पन्न हुन सक्ने व्यक्तिगत, सामाजिक तथा मनोवैज्ञानिक असरका विषयमा समेत प्रकाश पारे । विद्यार्थीलाई लागुऔषध तथा डिजिटल माध्यमको गलत प्रयोगबाट टाढा रहन, समस्या वा जिज्ञासा लुकाउनुको सट्टा अभिभावक, शिक्षक तथा सम्बन्धित व्यक्तिसँग खुलेर संवाद गर्न र आफ्नो स्वास्थ्य तथा भविष्यप्रति जिम्मेवार बन्न उनले आग्रह गरे ।

कार्यक्रमको पिजिडी पुरुषोत्तम भक्त प्रधानाङ्गले उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारी, लायन्स एरिया चिफ बैकुण्ठ कुमार श्रेष्ठ तथा डिस्ट्रिक्ट चिफ विकास श्रेष्ठ, क्लबका सचिव राजु घिमिरेले समुदायमा युवा वर्गमा देखिएका समस्याप्रति आफुहरु गम्भिर भएर अभियानका चलाउदै आएको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष राजेश खत्रीले विद्यार्थीलाई लागुऔषधको तत्कालीन तथा दीर्घकालीन असरका साथै डिजिटल माध्यमको जिम्मेवार प्रयोग, सम्बन्धका विषयमा सही निर्णय लिनुपर्ने आवश्यकता र पोर्नोग्राफीबाट पर्न सक्ने नकारात्मक प्रभावबारे व्यवहारिक जानकारी प्रदान गरिएको बताए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्