काठमाडौँ, २ असोज । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्यतया बदलीको अवस्था रहेको छ ।
महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। आज राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमतीका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
तराईतर्फ कोशी प्रदेशका केही स्थान, मधेस तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।




















