मुस्ताङ । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् । सम्मेलनको मंगलबार कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छिन् । सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिए । दुई दिन चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्वन्धी घोषणापत्र जारी गर्नेछ ।
सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ । सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजापतङ्गा झुन्ड्याएर सजिसजाउ गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको छ ।
जोमसोम कभर्डहलमा हुने सम्मलनमा स्टेज, साउन्ड सिस्टम, ब्यानरसहित आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए । सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ । यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए ।
रासस





















