बुटवल,२७ भदौ ।
बुटवलमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको औपचारिक रुपमा तयारी सुरु भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिक रुपमा तयारी शुरु गरेको हो ।
मेला तयारी अन्तर्गत शनिबार प्रदर्शनी स्थलअगाडि मेलाको साइनबोर्ड र लोगो अनावरण तथा मेला सम्पन्न गर्न गठित २९ वटा उपसमिति संयोजकको नामावली सार्वजनिक गरिएको मेला आयोजक संघका अध्यक्ष लोकनाथ पन्थीले बताए । अध्यक्ष पन्थी अनुसार मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, स्टल धनी व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम लगायतका तयारीलाई अघि बढाइएको छ ।
मेलामा ४५० देखि ५०० वटासम्म स्टल रहने संघका वरिष्ठ उपाध्यक्ष एवं स्टल दर्ता उपसमिति संयोजक पदम जीसीले बताए ।स्वदेशी उत्पादन, स्थानीय र महिला उद्यमीका स्टललाई प्राथमिकता दिइने मेलामा हालसम्म करिब एक सय वटा स्टल बुकिङ भइसकेका जीसीले बताए । १४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार र ८ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको गर्ने लक्ष्य राखिएको संघका कोषाध्यक्ष दिलीप शर्माले जानकारी दिए ।





















