बुटवल,२७ भदौ । नेपाल प्रेस युनियन रुपन्देहीको दशौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक जीवनारायण अधिकारीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए । सोही अवसरमा प्रदेश महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय परामर्शदाता तथा पूर्व केन्द्रीय उपाध्यक्ष हरि लम्सालले प्रेस युनियन सशक्त संगठनका रूपमा स्थापित संस्था भएको बताउँदै यसको विधि, विधान र नियमअनुसार सबै सदस्यको हितमा काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे । निवर्तमान अध्यक्ष कविन्द्र नेपालले आफ्नो कार्यकालमा संगठनलाई अघि बढाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्नुभयो। नेतृत्व परिवर्तन संगठनको स्वाभाविक प्रक्रिया भएको बताउँदै उनले नयाँ नेतृत्वलाई सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
पत्रकारहरूको पेशागत हकहित र प्रेस स्वतन्त्रताको पक्षमा युनियनले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष कल्पना तिवारीले प्रेस युनियन रुपन्देहीलाई थप व्यवस्थित, सक्रिय र सबै पत्रकारको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरीन । उनले संगठनको गरिमा र पत्रकारिताका मूल्यमान्यता कायम राख्दै सदस्यहरूको पेशागत हितका लागि काम गर्ने बताइन ।
पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष रेखा भुसाललगायतले पत्रकारको पेशागत हकहित, प्रेस स्वतन्त्रता र संगठनलाई थप सुदृढ बनाउन नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा प्रेस युनियनका संस्थापक अध्यक्ष तथा संस्थापक, पूर्व अध्यक्षहरू, अग्रज पत्रकार तथा युनियनका सदस्यहरूको सहभागिता रहेको थियो।
यसैबीच, पदस्थापनपछि नेपाल प्रेस युनियन रुपन्देहीको नयाँ कार्यसमितिको पहिलो बैठकसमेत सम्पन्न भएको छ। नवनिर्वाचित अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा बसेको बैठकले अधिवेशन तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, नेपाल प्रेस युनियनका केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, केन्द्रीय प्रतिनिधि, संस्थापक, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष तथा कार्यसमिति, नेपाली कांग्रेसका जिल्ला, क्षेत्र तथा नगर समिति, नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश तथा जिल्ला समिति, पत्रकारसम्बद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधि, व्यावसायिक प्रतिष्ठानका प्रतिनिधि, पत्रकार तथा कार्यक्रमस्थल उपलब्ध गराउने बुटवल उद्योग वाणिज्य संघलगायत सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।
बैठकले आगामी दिनमा संगठनलाई एकताबद्ध, व्यवस्थित र थप प्रभावकारी बनाउँदै पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा प्रेस स्वतन्त्रताको पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
त्यस्तै, बैठकले नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य कला डुम्रेका पूजनीय पिता जयनारायण डुम्रेको ८९ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।




















