काठमाडौँ । धनुषाको सबैला नगरपालिका–८, साविक ठिल्ला गाउँ विकास समितिका ३८५ परिवारले नापजाँच सम्पन्न भएको करिब पाँच वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । नापी कार्यालय धनुषाले लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवारलाई जग्गाको कानुनी स्वामित्व स्थापित हुने गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न स्थानीयको जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो । नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी कार्यालयले ३८५ थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको जनाएको छ । पुर्जा प्राप्त भएपछि लामो समयदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रतीक्षामा रहेका परिवारले औपचारिक रूपमा जग्गाको स्वामित्व प्राप्त गरेका छन् ।
यसअघि सबैला नगरपालिकाका वडा नं. ४, ५, ६ र १० का गरी ३ हजार २२६ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।




















