Spread the love

काठमाडौं । हुलाकमार्फत नेपाल भित्र्याइएको १ किलो ९१० ग्राम थाई गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय हुँदै इटहरी पठाइएको पार्सल जाँच गर्दा ९१० ग्राम थाई गाँजा बरामद गरेको थियो।

प्रहरीले पार्सल बुझ्ने व्यक्तिलाई पक्राउ गर्न निगरानी बढाएको थियो। सोही क्रममा भदौ १६ गते पार्सल बुझेर लैजाँदै गरेका सुनसरीकी १९ वर्षीया जेसिका तामाङ र धनकुटाकी २५ वर्षीया तारा मगर पक्राउ परेका हुन्।

उनीहरू बस्दै आएको धरान उपमहानगरपालिका–१५ स्थित कोठामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, उक्त गाँजा लिन आएका भारतका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई प्रहरीले भदौ १९ गते धरान उपमहानगरपालिका–८ बाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार चारै जनाको साथबाट कुल १ किलो ९१० ग्राम थाई गाँजा र चार थान मोबाइल बरामद गरिएको छ।घटनाबारे इलाका प्रहरी कार्यालय धरान र लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्