काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधिमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।




















