Spread the love

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणको आज दोस्रो तथा अन्तिम दिन हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आज भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा रहेका शाहले आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि दुवै प्रधानमन्त्रीले हैदराबाद हाउसमै संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। सोही अवसरमा दुवै प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट श्रव्यदृश्य माध्यममार्फत रेलसेवाको उद्घाटन गर्नेछन्।

दुई देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ। यी क्षेत्रसँग सम्बन्धित विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यसूचीसमेत रहेको छ।

प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन्। परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रबाट ५२ जनाको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।

दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्किने कार्यतालिका रहेको छ।

 

">
Bajaj Grand Exchange Mela