वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना.२ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको आरजे १४ जिई ८७१० नम्बरको ग्याँस ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएको ग्याँस ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्जका करिब ४८ वर्षीय धनेश्वर राय रहेका छन् । चालकको स्वास्थ्य परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





















