Spread the love

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भू–भाग नजिक रहेको छ। हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कर्णालीका पहाडी तथा सुदूरपश्चिमका पहाडी र तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग, कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा वा हिमपात तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा वर्षाका कारण हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्