बुटवल, १८ साउन ।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लुम्बिनीको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार पदस्थापन भएको छ । एक कार्यक्रमका बिच अफिन लुम्बिनीका संस्थापक अध्यक्ष रामप्रसाद खरेल, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीले नया कार्यसमितिलाई पद स्थापनसंगै कार्यकालको सफलताको शुभकामना दिए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीले नेपालको स्वास्थ्य क्षेत्रमा निजी स्वास्थ्य संस्थाहरूबाट भएको योगदानबारे चर्चा गर्दै स्वास्थ्य सेवामा देखिएको चुनौतीहरुलाई पार गदै अघि बढ्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा गरिएको लागि अन्य पेशाब्यवसायभन्दा फरक हुने भन्दै गुणस्तरीय र सामाजिक उत्तरदायित्वसहितको सेवामा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्णप्रसाद खरेलले स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि सरोकारवाला सबै एकजुट हुनुपर्ने बताए । स्वास्थ्यकर्मीहरुमाथि हुने आक्रमणप्रति गरिएको आन्दोलनमा सबै पक्षबाट राम्रो साथ मिलेको भन्दै एकअर्काबिच सहकार्य गरि अघि बढ्नुपर्ने समेत उनले बताए ।
कार्यक्रममा अफिनका केन्द्रीय सदस्य अर्जुन पौडेल, पूर्व केन्द्रीय सदस्य गोविन्द खनाल, औषधि व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लुकराज न्यौपाने, निर्वाचन अधिकृत युवराज घिमिरे, केदार नेपाल, चिरञ्जीवी जोशीले सबै सरोकारवाला संस्थाहरुबिचमा समन्वय र सहकार्य गरि अघि बढ्नुपने बताए ।






















