Spread the love

काठमाडौं,७ असोज ।

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ असोज १२ गतेदेखि १७ गतेसम्म बुटवलमा सञ्चालन हुने भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका गरी ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउने एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालमा ५ र विदेशी ३ टिमको सहभागिता रहनेछ । उनका अनुसार नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब नेपालका हुन् ।

यस्तै गुजरात स्टेट भलिबल एसोसिएस र खैरा क्लब पन्जाब भारतबाट प्रतिनिधत्व गर्दैछन् भने श्रीलंकन टिमको रुपमा श्रीलंका पुलिस क्लब रहेको छ ।प्रतियोगितामा विजेता टिमले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुनेले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ट्रफी, मेडल, प्रमाणपत्र तथा विधागत पुरस्कारसहित कुल ३१ लाख ६१ हजार रुपैयाँ पुरस्कार तथा सम्मानमा खर्च हुनेछ । प्रतियोगिता सञ्चालनका लागि कुल १ करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ बजेट अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

जसअन्तर्गत खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनमा ५६ लाख २३ हजार ९०० रुपैयाँ, यातायात खर्चमा १० लाख रुपैयाँ, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार रुपैयाँ, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार रुपैयाँ र अन्य विविध खर्च १४ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ ।

यसका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, स्थानीय सरकार, कर्पोरेट प्रायोजक, बैंक तथा वित्तीय संस्थालगायतका स्रोतहरूबाट आर्थिक व्यवस्थापन गरिने पनि उनले बताए । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्रि चन्द्र बदना राई रेफ्रि डेलिगेटको रूपमा रहनेछन् । सहभागी खेलाडी, निर्णायक र प्राविधिक जनशक्तिका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको पनि उनले बताए ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्