बुटवल, २ असोज ।
रुपन्देहीमा सम्पन्न थिम नृत्य प्रतियोगिता २०८३ को उपाधि ज्ञानगंगा पाठशालाले चुमेको छ । नृत्यकर्मी संघ, नेपालको आयोजना तथा प्याब्सन रुपन्देहीको सहकार्यमा शुक्रबार दुर्गा शैक्षिक गृह, सियारी गाउपालिकामा भएको प्रतियोगिताको उपाधि ज्ञानगंगा पाठशालाले चुमेको हो । उपाधिसंग उसले नगद २५ हजार रुपैया, कप, प्रमाणपत्र चुमेको छ । यसैगरि प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल उपविजेतामा चित्त बुझाउदै नगद १५ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भयो। यसैगरि ईन्भारोमेन्ट बोर्डिङ स्कुल तेस्रो हुदै १० हजार रुपैया तथा देवसिद्घ बोर्डिङ स्कुल चौथो हुदै नगद ५ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भयो ।
एक समारोहका बिच सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, दुर्गा शैक्षिक गृहका अध्यक्ष सुजाता ज्ञवाली, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेय, प्याब्सन तिलोत्तमाका अध्यक्ष दिपक गौतम, निर्णायकहरु वरिष्ठ नृत्य निर्देशक कमल राई र सुन्दर गुरुङ, दुर्गा शैक्षिक गृहका प्रधानाध्यापक ओमप्रकाश पौडेल, संघका अध्यक्ष प्रियंका थापाले पुरस्कार वितरण गरे ।
कार्यक्रममा सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बालबालिकामा लुकेका प्रतिभा प्रस्फुटन हुने गरि महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताए । बालप्रतिभा प्रष्फुटन हुने गरि यस क्षेत्रमा नै पहिलोपटक रचनात्मक कार्यक्रम गरिएको भन्दै आफु पदिय रुपमा नरहेपनि अर्को वर्षको सम्पूर्ण लाग्ने खर्च ब्यक्तिगत रुपमा नै ब्यहार्ने प्रतिवद्घता जनाए । निजि विद्यालयप्रति हेर्ने सरकारको दृष्टिकोण सधै नकारात्मक रहेको स्विकार्दै उनले संस्थागत विद्यालयको योगदानको सहि मुल्याकन हुन नसकेको दाबी गरे । सहभागीहरुले महिला हिसा, सामाजिक संजालको प्रयोगबारे, प्रकृति संरक्षण, बाल अधिकार लगायतका विषयमा रहेर नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेयले नेपालमा निजि विद्यालय बन्द हुन्छ भन्ने भ्रम समाजमा छर्ने काम भएको प्रति आपत्ति ब्यक्त गरे । उनले निजि विद्यालयहरुको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान रहेको समेत उनले बताए । निजि विधालयले ३४ प्रतिशत विधार्थीहरुलाई अध्ययापन गराउदै आएको उनले बताए । प्रतियोगितमा १७ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ।



















