बुटवल । युवापुस्तामाझ चियाको आकर्षण छ । ब्यस्त शहरीजिवनशैलीका बिचमा साथीभाईहरुको भेट्ने बहाना चिया बन्ने गरेको छ । यही चियालाई नै ब्यवसायिक रुपमा अघि बढाएको बुटवलको कालिकानगरस्थित चिया रेष्ट्रो दोस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वर्ष प्रवेशको अवसरमा रेष्ट्रोले मंगलबार आफ्ना ग्राहकलाई लक्षित गर्दै विशेष सांगीतिक कार्यक्रमसँगै विभिन्न छुट तथा अफरको व्यवस्था गरेको छ ।
चिया रेष्ट्रोले खानपिनसँगै फरक वातावरण र सिर्जनात्मक संरचनालाई समेत प्राथमिकता दिएको छ । रेष्ट्रोमा प्राकृतिक काठ तथा फालिएका टायरको पुनःप्रयोग गरी कुर्सी तथा टेबल तयार गरिएको छ । साथै, पुराना सामग्रीहरूको संग्रहसमेत राखिएकाले ग्राहकका लागि रेष्ट्रोको वातावरण आकर्षणको केन्द्र बनेको सञ्चालक तौकर आलमले बताए । उनका अनुसार करिब एक कठ्ठा क्षेत्रफलमा करिब २० लाख रुपैयाँ लगानीमा रेष्ट्रोको पूर्वाधार तयार गरिएको हो । चिया रेष्ट्रोमा नर्मल चिया, मसला चिया र मटका चिया विशेष परिकारका रूपमा उपलब्ध छन् ।
त्यस्तै कफी, ग्रिन टी, हट लेमन हनी, विभिन्न सोडा, मोही, लस्सी, जोरधारामा बटुक, पकौडा, चुकौनी, लाफिङ, किमा नुडल्स, मःमः र चाउमिनलगायतका परिकारसमेत उपलब्ध रहेको सञ्चालक आलमले बताए । व्यवसाय सञ्चालनसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै रेष्ट्रोले बाढीपीडितलाई सहयोग गर्नुका साथै विभिन्न सामाजिक तथा सांगीतिक कार्यक्रम र इभेन्टमा समेत सहयोग गर्दै आएको जनाएको छ । दोस्रो वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको सांगीतिक कार्यक्रमले ग्राहकलाई मनोरञ्जनसँगै रेष्ट्रोको नयाँ अनुभव दिने उद्देश्य राखिएको सञ्चालक आलमले बताए । रेष्ट्रोमा हाल ६ जना स्थानीय युवाले रोजगारीसमेत पाएका छन् ।


















