काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गराउन देशभरका अस्पतालका सम्पर्क व्यक्ति (फोकल पर्सन) को विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचीमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ ।
निःशुल्क शय्या तथा उपचार सेवासम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सम्बन्धित अस्पतालका फोकल पर्सनसँग सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यसबाट निःशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्नुका साथै आएका गुनासो तत्काल सम्बोधन र समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ । कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप प्रभावकारी बनाएको हो । मन्त्रालयले यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकेको छ ।
अस्पतालहरूले आफूले छुट्याएका निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ । मन्त्रालयले सेवाग्राहीलाई सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, सेवा प्राप्तिमा समस्या भए गुनासो गर्न तथा आवश्यक समन्वयका लागि सम्बन्धित फोकल पर्सनसँग सम्पर्क गर्न आग्रह गरेको छ ।






















