दाङ,१८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउनु पर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको छलफलमा उनले बालीको प्रकृतिको आधारमा किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
उनले कार्यविधि तयार गर्दा वास्तविक किसानको आवश्यकता तथा खाद्यन्नबालि सहित उखु, केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने गरी वितरण प्रणाली सुधार गर्ने नीति निर्माण गरिने बताए ।
छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. नितु पण्डितले देशभर वार्षिक करिब १४ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने बताईन । उनले उखु, मकै र केरा खेतीमा समेत आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउने विषयमा संघीय कृषि मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।छलफलका क्रममा बर्दियास्थित राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले आगामी सिजनमा उखु खेती विस्तारका लागि रासायनिक मलको सुनिश्चितताको माग गरेको थियो ।
उद्योगका अनुसार हाल करिब दुई हजार किसानले तीन हजार बिघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन् । आगामी सिजनमा पाँच हजार किसानलाई सहभागी गराई करिब छ हजार बिघामा व्यवसायिक उखु खेती विस्तार गर्ने योजना रहेको छ । छलफलमा नेकपा (एमाले) बर्दियाका अध्यक्ष सालिकराम अधिकारी, उखु उत्पादक किसान समितिका अध्यक्ष कृष्णकुमार रेग्मी, राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख इन्द्रप्रसाद ढकाल तथा किसान समिति सदस्य ओमप्रकाश यादवको सहभागिता रहेको थियो ।






















