रुपन्देही, ११ साउन ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ स्थित हाटबजारमा भीडभाडको मौका छोपी महिलाको घाटीबाट सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ सफल भएको छ । घटनामा संलग्न पाँच जनालाई स्कारपियो गाडीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।
प्रहरीका अनुसार साउन ९ गते हाटबजारमा भीडभाडको फाइदा उठाउँदै पीडितले लगाएको करिब दुई तोला बराबरको सुनको सिक्री स्न्याचिङ गरिएको थियो । घटनापछि प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा खटिएको टोलीले विभिन्न स्थानमा खोजतलास तथा अनुसन्धान तीव्र पारेको थियो । अनुसन्धानका क्रममा सिक्री लुटपाटमा संलग्न गिरोहलाई प्रयोग गरिएको बा १९ च ४३७७ नम्बरको स्कारपियो गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ निवासी ३१ वर्षीय अकलेश बृजवासी, पर्साको वीरगञ्ज महानगरपालिका–२० निवासी २८ वर्षीय राजन राय, वीरगञ्ज–१६ निवासी २१ वर्षीय अमन राय, भारतको बिहार राज्य मोतिपुर जिल्ला रामगणवा थाना निवासी ४० वर्षीय मोहम्मद इमाम रहेका छन् । घटनामा संलग्न एक नाबालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुनजस्तो देखिने एक थान सिक्री, चार थान मोबाइल फोन तथा स्कारपियो गाडी बरामद गरेको छ । पक्राउ परेका प्रतिवादीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले पछिल्लो समय बजार क्षेत्र तथा भीडभाड हुने स्थानमा सक्रिय स्न्याचिङ समूहप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।





















