Spread the love

आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ। शिक्षा, सूचना, सञ्चार र प्रविधिको पहुँच विस्तार गर्न मोबाइलले महत्वपूर्ण भूमिका खेलेको छ । मोबाइल आफैंमा खराब होइन, तर यसको अनियन्त्रित र गलत प्रयोग भने बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यका लागि चुनौती बन्दै गएको छ ।

बालबालिकाले मोबाइलमार्फत नयाँ कुरा सिक्न सक्छन्, ज्ञान र सिर्जनात्मकताको विकास गर्न सक्छन् । तर जब मोबाइल प्रयोग आवश्यकता र सीमाभन्दा बाहिर जान्छ, जब बच्चाको अधिकांश समय गेम, सामाजिक सञ्जाल, भिडियो वा अनुपयुक्त सामग्रीमा बित्न थाल्छ, तब यसको असर उनीहरूको व्यवहार, भावना, पढाइ, निद्रा र सामाजिक सम्बन्धमा देखिन थाल्छ ।

पछिल्लो समय नेपालसहित विश्वभर नै बालबालिका र किशोरकिशोरीमा मोबाइल तथा डिजिटल प्रविधिको अत्यधिक प्रयोगसँग सम्बन्धित मानसिक तथा व्यवहारिक समस्याहरू बढ्दै गएको देखिन्छ। विभिन्न अध्ययनहरूले पनि अत्यधिक स्क्रिन टाइम र डिजिटल निर्भरताले निद्रा समस्या, ध्यान केन्द्रित गर्न कठिनाइ, सामाजिक दूरी, भावनात्मक असन्तुलन तथा व्यवहार परिवर्तनसँग सम्बन्ध देखाएका छन् । यही कारणले धेरै विद्यार्थी तथा परिवारहरू मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिन पुग्ने क्रम पनि बढिरहेको छ ।

मानसिक स्वास्थ्य सेवासँग आबद्ध रहेर काम गर्ने क्रममा मैले व्यक्तिगत रूपमा पनि यस्ता समस्याहरू बढ्दै गएको अनुभव गरिरहेको छु । दैनिक रूपमा मोबाइलको अत्यधिक प्रयोगसँग सम्बन्धित व्यवहारिक तथा मानसिक समस्या लिएर करिब ३–४ जना बालबालिका वा विद्यार्थीका परिवारहरू परामर्शका लागि आउने गरेका छन् । धेरै अवस्थामा समस्या केवल मोबाइल प्रयोगमा सीमित हुँदैन, यसले बच्चाको रिस, आक्रोश, पढाइप्रतिको रुचि घट्नु, निद्रामा समस्या, सामाजिक दूरी र पारिवारिक सम्बन्धमा समेत असर पारिरहेको हुन्छ ।

धेरै परिवारमा बच्चालाई शान्त राख्न, खाना खुवाउन वा व्यस्त बनाउन मोबाइल दिने चलन सामान्य बनेको छ । तर अभिभावकहरूले बुझ्नुपर्ने कुरा के हो भने मोबाइल केही समयका लागि सहज समाधान हुन सक्छ, तर सही व्यवस्थापन नभए यही बानी विस्तारै निर्भरता र लतको रूप लिन सक्छ ।

मोबाइलको अत्यधिक प्रयोग भएका बालबालिकामाः

  • मोबाइल नपाउँदा अत्यधिक रिसाउने, कराउने वा आक्रामक व्यवहार देखाउने
  •  परिवारसँगको संवाद र सम्बन्ध कमजोर हुँदै जाने
  •  एक्लोपन बढ्ने तथा सामाजिक गतिविधिमा रुचि घट्ने
  •  राति अबेरसम्म मोबाइल चलाउने र निद्रामा समस्या आउने
  •  पढाइमा ध्यान कम हुने र शैक्षिक प्रदर्शन प्रभावित हुने
  • गेम, सामाजिक सञ्जाल वा अनुपयुक्त सामग्रीमा अत्यधिक समय बिताउने जस्ता समस्या देखिन सक्छन् ।

बालबालिकाको मानसिक विकासका लागि अभिभावकको माया, समय, भावनात्मक सम्बन्ध, खेलकुद, सिर्जनात्मक गतिविधि र सामाजिक अन्तरक्रिया अत्यन्त महत्वपूर्ण हुन्छन् । मोबाइलले यी कुराहरूलाई प्रतिस्थापन गर्न सक्दैन ।

अभिभावकहरूले ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरू

१. मोबाइललाई बच्चा चुप लगाउने माध्यम मात्र नबनाउनुहोस्।
बच्चाले मोबाइल माग्दा उसको आवश्यकता र कारण बुझ्ने प्रयास गर्नुहोस्।

२. बच्चालाई पर्याप्त समय दिनुहोस्।
बालबालिकालाई महँगो सामग्रीभन्दा बढी अभिभावकको समय, माया र सकारात्मक संवाद आवश्यक हुन्छ।

३. स्क्रिन टाइमको सीमा निर्धारण गर्नुहोस्।
उमेरअनुसार मोबाइल प्रयोगको समय तोक्नुहोस् र त्यसको पालना गराउनुहोस्।

४. डिजिटल सामग्रीमा निगरानी राख्नुहोस्।
बच्चाले के हेर्दैछ, कस्तो सामग्री प्रयोग गर्दैछ भन्ने विषयमा अभिभावक सचेत हुन आवश्यक छ।

५. स्वस्थ जीवनशैली विकास गर्न सहयोग गर्नुहोस्।
खेलकुद, पुस्तक पढ्ने बानी, सिर्जनात्मक कार्य र परिवारसँग बिताउने समयलाई प्राथमिकता दिनुहोस्।

प्रविधिलाई रोक्नु समाधान होइन। बरु बालबालिकालाई प्रविधिको सुरक्षित, सन्तुलित र जिम्मेवार प्रयोग सिकाउनु आजको आवश्यकता हो। समस्या मोबाइलमा होइन, मोबाइल प्रयोग गर्ने तरिका, समय व्यवस्थापन र अभिभावकको निगरानीमा हुन्छ ।

यदि बच्चाको व्यवहारमा अचानक परिवर्तन, अत्यधिक रिस, सामाजिक दूरी, निद्राको समस्या, पढाइमा गिरावट वा मोबाइलप्रतिको असामान्य आकर्षण देखिएमा समयमै मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

बालबालिकाको मानसिक स्वास्थ्य संरक्षण परिवार, विद्यालय र समाज सबैको साझा जिम्मेवारी हो। आजको सचेत अभिभावकत्वले भोलिको स्वस्थ, आत्मविश्वासी र सक्षम पुस्ता निर्माण गर्न सक्छ ।
“बच्चालाई मोबाइल होइन, आफ्नो समय, माया र मार्गदर्शन बढी आवश्यक छ ।”

— किरण ढकाल
मानसिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्