भैरहवा, ५ साउन ।
भैरहवा भन्सार कार्यालयले भन्सार हाताभित्र सक्रिय बिचौलिया (अनधिकृत प्रतिनिधि) को प्रवेश रोक्न कडाइ गरेको छ । भन्सार विभाग र नेपाल भन्सार एजेन्ट संघबीच भएको सहमतिअनुसार लागू गरिएको कार्यविधिअनुसार अनधिकृत व्यक्तिलाई भन्सार हाताभित्र प्रवेश निषेध गरिएको हो ।
भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भन्सारको कामलाई पारदर्शी, व्यवस्थित र कानुनी प्रक्रियाअनुसार सञ्चालन गर्न यो व्यवस्था लागू गरिएको बताए । नेपाल सरकारबाट मान्यता प्राप्त भन्सार एजेन्ट वा एजेन्टले विधिवत् नियुक्त गरेका आधिकारिक प्रतिनिधिबाट मात्रै भन्सारसम्बन्धी काम गर्न पाउने उनले बताए । अनधिकृत रूपमा एजेन्टको परिचयपत्र प्रयोग गरी काम गर्ने व्यक्तिलाई प्रवेश नदिइने उनले बताए । भैरहवा भन्सार कार्यालयमा हाल करिब १२० जना आधिकारिक भन्सार एजेन्टका प्रतिनिधि छन् । पाँच सयभन्दा बढी परिचयपत्र प्रयोग गर्ने अनधिकृत रूपमा भन्सार परिसरमा आवतजावत गर्नेहरु अहिले कम भएको भन्सार एजेन्टहरूको भनाइ छ ।
भैरहवा भन्सार एजेन्ट संघका महासचिव विष्णु भुसालले बिचौलिया तन्त्रका कारण नेपाली भन्सार एजेन्टहरूलाई काम गर्न कठिनाइ हुने गरेको र सेवा प्रवाहसमेत प्रभावित भएको बताए । भन्सारसम्बन्धी सबै काम कानुनी मान्यता प्राप्त एजेन्टमार्फत मात्रै हुनुपर्ने भन्दै बिचौलिया तन्त्रको अन्त्यका लागि संघले भन्सार कार्यालयसँग समन्वय गरेर अभियान अघि बढाएको उनको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि भन्सार क्षेत्रमा बिचौलियाको गतिविधिबारे जानकारी रहेको जनाउँदै आवश्यक अनुसन्धान तथा निगरानीलाई तीव्र बनाइएको जनाएको छ । प्रहरीका अनुसार अनधिकृत रूपमा बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताएको छ ।





















