काठमाडौं । बेलायतका लेबर पार्टीका नेता एन्डी बर्नहम बेलायतको ५९औँ प्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केइर स्टार्मरले पदबाट राजीनामा दिएपछि राजा चाल्र्स तृतीयले बकिङ्घम दरबारमा बर्नहमलाई सरकार गठनका लागि औपचारिक रूपमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको रूपमा पहिलो सम्बोधन गर्दै बर्नहमले बेलायतमा राजनीतिक स्थिरता कायम गर्ने, महँगी र जीवनयापनको बढ्दो लागत नियन्त्रण गर्ने तथा सार्वजनिक सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शक्ति र स्रोतलाई स्थानीय तहसम्म विकेन्द्रीकरण गर्दै देशभर नयाँ राजनीतिक तथा आर्थिक मोडल विकास गर्ने लक्ष्यसमेत सार्वजनिक गरेका छन् । ग्रेटर म्यानचेस्टरका मेयरका रूपमा लोकप्रिय बनेका बर्नहम लेबर पार्टीको आन्तरिक नेतृत्व परिवर्तनपछि प्रधानमन्त्री बनेका हुन् । उनी बेलायतमा पछिल्लो एक दशकमा प्रधानमन्त्री बन्ने सातौँ नेता हुन् ।
सन् १९७० मा लिभरपुलमा जन्मिएका बर्नहमले क्याम्ब्रिज विश्वविद्यालयबाट अध्ययन गरेका थिए । पत्रकारिताबाट सार्वजनिक जीवन सुरु गरेका उनी सन् २००१ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । त्यसपछि उनले टोनी ब्लेयर र गोर्डन ब्राउन नेतृत्वको सरकारमा संस्कृति, स्वास्थ्य तथा सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
सन् २०१७ देखि ग्रेटर म्यानचेस्टरका मेयर रहेका बर्नहमले सार्वजनिक यातायात सुधार, स्थानीय सरकारको सुदृढीकरण तथा कोभिड–१९ महामारीका बेला उत्तरी इङ्ग्ल्यान्डको पक्षमा बुलन्द आवाज उठाएका कारण व्यापक लोकप्रियता हासिल गरेका थिए । यही भूमिकाका कारण उनलाई ‘किङ अफ द नर्थ’ उपनामले पनि चिनिने गरिन्छ । प्रधानमन्त्री बनेसँगै बर्नहमले नयाँ मन्त्रिपरिषद् गठन प्रक्रिया अघि बढाएका छन् । उनले आर्थिक सुधार, सार्वजनिक सेवाको सुदृढीकरण, आवास समस्या समाधान तथा बेघरपन अन्त्यलाई आफ्नो सरकारको प्राथमिकतामा राख्ने बताएका छन् ।






















