कञ्चनपुर,४ साउन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ महिला सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार महिलाहरू आइतबार बिहान करिब ११ बजे पाँच र नौ जनाको दुई समूहमा जंगल प्रवेश गरेका थिए ।
आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई सकुशल फेला पारेको छ ।
तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको र परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । सम्पर्कविहीन महिलाहरुको खोजीकार्यका लागि ठूलो सङ्ख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको रणसिंह दल गणले जनाएको छ ।





















