काठमाडौं । लगातारको वर्षापछि पहिरो, ढुंगा खस्ने तथा सडक क्षतिका कारण देशका विभिन्न प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । केही राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी सञ्चालन भइरहेको छ । सबैभन्दा बढी प्रभाव कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका राजमार्गमा परेको छ ।
कोशी प्रदेशमा संखुवासभाको कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । भोजपुरस्थित मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ । बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ तथा सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ। रसुवास्थित पासाङ ल्हामु राजमार्ग, दोलखाको अरनिको राजमार्ग र धादिङको पृथ्वी राजमार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
गण्डकी प्रदेशमा बागलुङस्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द रहेको छ भने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पूर्व–पश्चिम राजमार्गमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशमा अर्घाखाँचीको शीतगंगा क्षेत्रमा रहेको सालझण्डी–सन्धिखर्क सडक पूर्ण रूपमा अवरुद्ध छ। गुल्मीको कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द रहेको छ ।
सुरक्षा निकायले वर्षाका कारण पहिरो जाने जोखिम अझै कायम रहेकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न तथा अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, अवरुद्ध सडक खुलाउने कार्य सम्बन्धित निकायबाट निरन्तर जारी रहेको जनाइएको छ ।






















