काठमाडौं । बुकायो साकाको शानदार ह्याट्रिकमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ । फाइनल पुग्न असफल भएका दुई टोलीबीच मियामीमा आइतबार भएको खेल निकै रोमाञ्चक रहेको थियो । गोलको वर्षा भएको प्रतिस्पर्धामा इंग्ल्यान्डले आक्रामक प्रदर्शन गर्दै विश्वकपको तेस्रो स्थान सुरक्षित गरेको हो ।
इंग्ल्यान्डका लागि बुकायो साकाले ३७ औं, इन्जुरी समयको पहिलो मिनेट र ८७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । कप्तान डेक्लान राइसले तेस्रो मिनेटमै अग्रता दिलाएका थिए भने एबेरेची एजेले १८ औं मिनेटमा दोस्रो गोल थपे । जारेल क्वान्साहले ५४औं मिनेटमा तथा जुड बेलिङ्घमले इन्जुरी समयको आठौं मिनेटमा अर्को गोल गरे ।
फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले ४८ औं र ६८ औं मिनेटमा दुई गोल गरे । उस्मान डेम्बेलेले इन्जुरी समयको छैटौं मिनेटमा तथा ब्राड्ली बार्कोलाले ५४औं मिनेटमा एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
हारका बाबजुद एम्बाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या १० पु¥याउँदै यस विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थान कायम राखेका छन् । उनले अर्जेन्टिनाका लियोनेल मेस्सीको ८ गोलको कीर्तिमानलाई उछिनेका छन् ।
विश्वकप इतिहासमा एम्बाप्पेको कुल गोल संख्या २२ पुगेको छ, जसले उनलाई प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये एक बनाएको छ । इंग्ल्यान्डका लागि विश्वकपमा तेस्रो स्थान जितेको यो पहिलो अवसर हो । यसअघि सन् २०१८ मा बेल्जियमसँग र सन् १९९० मा इटालीसँग तेस्रो स्थानको खेलमा इंग्ल्यान्ड पराजित भएको थियो ।





















