काठमाडौं, ३१ साउन ।
विपद्का घटनामा खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी र छिटो बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी क्षेत्रसँग सहकार्य विस्तार गरेको छ । यसका लागि प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)सँग छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर गरेको छ । प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा हस्ताक्षर भएको समझदारीअनुसार विपद्को समयमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ उपकरण तथा जनशक्ति खोज तथा उद्धार कार्यमा प्रयोग गरिनेछ ।
वायुसेवा सञ्चालक संघसँग भएको सहमतिअनुसार काठमाडौं उपत्यकाभित्र आवश्यक पर्ने हेलिकोप्टर सेवा निःशुल्क उपलब्ध गराइनेछ भने उपत्यका बाहिरका उद्धार उडान न्यूनतम सञ्चालन खर्चमा उपलब्ध गराइनेछ ।
नेपाल ड्रोन संघसँगको समझदारीअनुसार विपद्को समयमा आवश्यक परे ड्रोन, त्यससँग सम्बन्धित उपकरण तथा पाइलटसहितको सेवा प्राधिकरणलाई निःशुल्क उपलब्ध गराइनेछ । यस कार्यमा खटिने जनशक्तिको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्नेछ ।
त्यस्तै, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) ले पनि विपद्को अवस्थामा आवश्यक परे राफ्ट, उद्धार उपकरण तथा दक्ष जनशक्ति निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि तथा उद्धार टोलीको ढुवानीमा राफ्ट प्रयोग गरिने समझदारीमा उल्लेख छ । समझदारी पत्र एक वर्षका लागि लागू रहने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायबीचको समन्वय अपरिहार्य रहेको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै विपद् व्यवस्थापन प्रभावकारी बनाउन सकिने धारणा राखे ।
वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राजविक्रम महर्जन तथा नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको ज्यान र धनको सुरक्षा गर्न आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।






















