काठमाडौं, २६ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङ उपचार व्यवस्थापनभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले आत्मदाह प्रयासपछि उपचाररत रहेका गणेश नेपालीको घटनालाई लिएर गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाए ।
उनले उपचारको प्रभावकारी व्यवस्थापन गर्नुभन्दा गृहमन्त्री सञ्चारमाध्यमसँगै दौडधुप गर्न व्यस्त रहेको टिप्पणी गरे । शाहीले गृहमन्त्रीलाई लक्षित गर्दै भने, “गृहमन्त्री, तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर? फिल्मको नायकजस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो । गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नभई देशको वास्तविक गृहमन्त्री बन्न आग्रह गर्दछु ।”
उनले गणेश नेपालीलाई बिहीबार नै भारतको नयाँ दिल्लीमा उपचारका लागि पठाइएको भए उनको ज्यान जोगाउन सकिने दाबी पनि गरे ।






















