बुटवल, २२ असार ।
ढवाहास्थित वेस्टर्न मेगा कलेजले सूचना प्रविधि क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीलाई लक्षित गर्दै एकदिने विशेष सेमिनार सम्पन्न गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका तथा सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन इच्छुक विद्यार्थीलाई लक्षित गरी आयोजित टेक फयुचर २०२६ः आईटि सेमिनार तथा करियर काउन्सिलिङ कार्यक्रममा गरिएको हो।
सेमिनारमा एआई, डाटा साईन्स, आईटि तथा कक्षा १२ पछिका करियर अवसरका विषयमा नेम आईटि का प्रबन्ध निर्देशक तथा आईटी इन्जिनियर अमृत रानाभाटले प्रशिक्षण दिदै सूचना प्रविधिको बढ्दो महत्व, रोजगारीका अवसर तथा व्यावहारिक सीपबारे प्रकाश पारे ।
कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकास भइरहेको वर्तमान समयमा सैद्धान्तिक शिक्षासँगै बजारको मागअनुसार व्यावहारिक तथा प्रविधिमैत्री सीप विकासमा जोड दिँदै आएको बताए । विद्यार्थीलाई प्राविधिक रूपमा दक्ष, आत्मविश्वासी र अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले कलेजबाट यस्ता नवप्रवर्तनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले दाबी गरे ।
आईटी संयोजक कृष्ण श्रेष्ठकोे संयोजनमा भएको कार्यक्रममा उल्लेख्य विद्यार्थीहरुको उपस्थिति रहेको प्रशासनिक कर्मचारी एलिजा बज्राचार्यले बताईन ।




















